देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदै

 

काठमाडौं । आज देशभर माघे सङ्क्रान्ति पर्व श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिन लामो र रात छोटो हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिन स्नान, जप, तप, ध्यान, साधना तथा दानलाई पुण्यदायी मानिने धार्मिक विश्वास छ । यसै कारण आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको ठूलो भीड लागेको छ । यी स्थानहरूमा आज विशेष मेला पनि लाग्ने गर्छ ।

तराई क्षेत्रमा माघ १ गतेलाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउने चलन छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडीलगायतका तातो खानेकुरा खाने परम्परा रहेको छ । चिसो मौसममा यी परिकारले शरीरलाई न्यानो प्रदान गर्ने विश्वास गरिन्छ ।

विभिन्न ठाउँमा पुस महिनाको अन्तिम दिन तरुल पकाएर राखी माघमा खाने चलन छ, जसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा समेत प्रयोग गरिन्छ । आज तिलको तेलले शरीरमा मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कने विश्वास पनि रहिआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्