काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगन थापाले पार्टीको शिर झुक्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
मध्यराति काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति चुनिएपछि सम्बोधन गर्दै थापाले नेपाली कांग्रेसको नेतृत्व सम्हाल्नु गौरव र ठूलो जिम्मेवारी दुवै भएको बताए।
‘नेपाली कांग्रेसको सभापतिको नाम लिँदामात्रै पनि गर्वले छाती फराकिलो हुन्छ। यो सानो जिम्मेवारी होइन,’ थापाले भने, ‘इमानदारीपूर्वक भन्छु—जुन विश्वासका साथ यो जिम्मेवारी सुम्पिनुभएको छ, कसैको पनि शिर झुक्न दिने छैन। नेपाली कांग्रेसको शान राख्छु।’
थापाले वर्तमान परिस्थितिमा विशेष महाधिवेशन गर्नु रहर नभई बाध्यता भएको स्पष्ट पारे। नेपाल र नेपाली कांग्रेस दुवै कठिन अवस्थामा रहेकाले जोखिम मोलेर अघि बढ्नुपरेको उनको भनाइ थियो।
‘नेपाल दुखेको बेला, नेपाली कांग्रेसलाई घाउ लागेको बेला विशेष महाधिवेशन गर्ने हाम्रो रहर थिएन,’ उनले भने, ‘तर यो बाध्यता थियो। यो जोखिम हामीले उठाउनै पर्थ्यो। मैले भन्दा पनि धेरै ठूलो जोखिम तल बस्ने साथीहरूले उठाउनुभएको छ।’
नव-निर्वाचित सभापति थापाको अभिव्यक्तिलाई कांग्रेसलाई एकताबद्ध गर्दै नयाँ दिशामा अघि बढाउने सन्देशका रूपमा हेरिएको छ।





