काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई आफूले कुरा बुझाउन नसकेको बताएका छन्।
देउवा पक्षबाट कारबाही भएपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा थापाले सभापति देउवाले आज बिहानसमेत ‘वैशाखमा नियमित महाधिवेशन हुन्छ, त्यही बेला सभापति बन्नू’ भनेर सुझाव दिएको बताए।
‘मैले उहाँलाई कुरा बुझाउनै सकिनँ। म त अहिले महामन्त्री छु, विश्वप्रकाश शर्मा पनि महामन्त्री हुनुहुन्छ,’ थापाले भने, ‘हामीहरू त्यही पार्टीको संसदीय दलभित्र छौं। हामीले चुनाव लड्नेभन्दा साथीहरूले मेरो क्षेत्रमा चुनाव लड्नुस् भनेर बोलाएकै छन्, माया गरेकै छन्। हाम्रोबारेमा चिन्ता हो र ?’
थापाले अहिलेको चिन्ता व्यक्तिगत पद र भूमिकाको नभएको स्पष्ट पारे।
‘हाम्रोबारेमा चिन्ता नै होइन। हामी त जोखिम उठाउन खोज्दैछौं,’ उनले भने।
उनको भनाइले कांग्रेसभित्र देखिएको विवाद पद र आकांक्षाभन्दा पनि पार्टीको दिशा र भविष्यसँग जोडिएको सन्देश दिन खोजेको विश्लेषण गरिएको छ।





