काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी गरेका छन्।
आफूमाथि कारबाही गरिएको खबर सार्वजनिक भएको केहीबेरपछि विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले अब निर्वाचन समितिमार्फत नयाँ केन्द्रीय कार्यसमिति चयन हुने प्रक्रिया अघि बढेको बताएका हुन्।
‘यहाँ नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ। श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ। अब हामी नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने क्रममा छौं,’ थापाले भने, ‘सिंगो देशले यो सुनिरहेको छ। नागरिकहरूले सुनिरहेका छन्। देशभरका कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरूले सुनिरहेका छन्। यही हो नेपाली कांग्रेस।’
थापाले विशेष महाधिवेशनमा सहभागी नेताकार्यकर्ताहरू नै पार्टीका संस्थापक नेता बीपी कोइराला र गणेशमान सिंहका सच्चा अनुयायी भएको उल्लेख गरे।
‘नेपाली कांग्रेसका श्रद्धेय नेता बीपी कोइराला र गणेशमान सिंहको परिवारका सदस्यहरू यहाँ हुनुहुन्न। तर त्योभन्दा ठूलो परिवारको सदस्य हामी हौं,’ उनले भने, ‘हामी हौं गणेशमानका सन्तान, हामी हौं बीपीका सन्तान। किनकि, जसले बीपी र गणेशमानका विचार बोकेका छन्, उनीहरू नै तिनका सन्तान हुन्।’
थापाको यो अभिव्यक्तिसँगै कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ भने विशेष महाधिवेशन र पार्टी नेतृत्वको वैधानिकताबारे बहस अझ तीव्र बनेको छ।





