काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि पार्टी संस्थापन समूहले कडा कारबाही गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापा, शर्मासहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायत नेताहरूलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।
बैठकले पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोप लगाउँदै कारबाही गरेको जनाएको छ। साथै, विशेष महाधिवेशनको पक्षमा लागेका नेताहरूलाई आ–आफ्नो भूमिकामा फर्किन निर्देशनसमेत दिएको छ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए। तर, उनीहरू स्वयं सहभागी रहेको केन्द्रीय समितिको बैठकले पार्टीको नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति गरेको थियो। उक्त निर्णयमा थापा र शर्माले फरक मत राखेका थिए।
विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम हुने दाबी गर्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए।
पार्टी विभाजन रोक्ने उद्देश्यले विभिन्न चरणमा नेताहरूबीच छलफल भए पनि सहमति जुट्न सकेन। मंगलबार मात्रै नेताहरूबीच तीन चरणमा छलफल भएको थियो। आज बिहान महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरे तापनि निकास ननिस्किएपछि विशेष पक्षका महामन्त्रीद्वयले निर्वाचन समितिलाई कारबाही अघि बढाउन निर्देशन दिएका थिए।
सोहीअनुसार निर्वाचन समितिमा सभापति पदका लागि गगन थापाको नाम दर्ता भइसकेको छ। निर्वाचन समितिले अन्य पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको जानकारी दिएको छ।





