नेपाली कांग्रेस विभाजनको संघारमा, विवाद मिलाउन शीर्ष नेताको अन्तिम प्रयास

काठमाडौँ – नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको छ। पार्टी जोगाउन र आन्तरिक विवाद समाधान गर्न शीर्ष नेताहरू अन्तिम प्रयासमा जुटिरहेका छन्। गएराति अबेरसम्म चलेको छलफलले भने ठोस निष्कर्ष निकाल्न सकेन। हिजो दिउँसोदेखि रातिसम्म तीन चरणमा भएको वार्ताबाट कुनै टुंगो नलागेको छलफलमा सहभागी नेताहरूले बताएका छन्। आज बिहान हुने छलफलबाट भने कुनै निष्कर्षमा पुगिने उनीहरूको विश्वास छ। संस्थापन पक्षका नेता रमेश लेखकका अनुसार वार्तामा केही सकारात्मक बिन्दुहरू आएका छन्। त्यस्तै, विशेष महाधिवेशन पक्षले पनि पार्टी फुट्न नदिन आफूहरूले सक्दो प्रयास गरिरहेको जनाएको छ।

छलफलमा संस्थापन समूहबाट बालकृष्ण खाँण र रमेश लेखक, विशेष महाधिवेशन समूहबाट प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य तथा शेखर कोइराला समूहबाट जीवन परियार र मीनेन्द्र रिजाल सहभागी छन्। विशेष महाधिवेशनलाई पार्टीले स्वामित्व लिने, महाधिवेशनमा पेस भएका प्रतिवेदन र कार्यविधि संस्थापन समूहले अध्ययन गरी सुझाव दिने र ती सुझाव समेटेर पारित गर्ने विषयमा मोटामोटी सहमति भए पनि सभापति शेरबहादुर देउवाको राजनीतिक बहिर्गमन तथा आगामी चुनावमा उम्मेदवारको टिकटमा कसले हस्ताक्षर गर्ने भन्ने विषय भने अझै टुंगिन बाँकी छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा गएको पुस २७ गतेदेखि काठमाडौँमा विशेष महाधिवेशन चलिरहेको छ। महामन्त्री थापाले उचित निकासका लागि संवादको प्रयास भइरहेको बताउँदै बाहिर जे समझदारी भए पनि त्यसलाई विशेष महाधिवेशनबाटै अनुमोदन गराउनुपर्ने धारणा राखेका छन्।

शीर्ष नेताहरू ठोस निष्कर्षमा पुग्न नसक्दा सोमबारसम्मका लागि तय गरिएको विशेष महाधिवेशन लम्बिएको छ। यसैबीच नेतृत्व चयनका लागि मनोनयन प्रक्रिया सुरु भइसकेको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मनोनयन बुझाउने समय आज बिहान सवा ९ बजेसम्म तोकिएको छ।

उता, संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। हिजोका लागि तय भएको बैठक दुई पटक सरेर स्थगित भएपछि आज बिहानका लागि पुनः आह्वान गरिएको हो। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्