काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रिया अनुसार मतदान भोलि बिहान हुने भएको छ। निर्वाचन समितिले आज साँझ साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको र त्यसपछि समय थप नहुने स्पष्ट पारेको छ। निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार साँझ ६:३० बजेदेखि ७:३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। ‘अब समय थप हुँदैन। मतदानसहितको परिमार्जित कार्यतालिका सार्वजनिक गर्दैछौँ,’ उनले भने, ‘राति मतदान हुँदैन, भोलि बिहानदेखि मतदान प्रक्रिया सुरु हुन्छ।’
यसैबीच, करिब ९ घण्टादेखि विशेष महाधिवेशनको बन्द सत्र निरन्तर जारी छ। चिया तथा खानाको ब्रेक नगरी बन्द सत्र सञ्चालन भइरहेको छ। दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सम्पूर्ण समय बन्द सत्रमा सहभागी रहेको जानकारी गराइएको छ।
सचिवालयका अनुसार बन्द सत्र अब करिब दुई घण्टा थप चल्नेछ र आएका सुझावहरूलाई समेटिनेछ। आज साँझ दुई महामन्त्रीले सम्बोधन गरेपछि बन्द सत्र सकिने बताइएको छ।






