कांग्रेस विशेष महाधिवेशन: मनोनयन दर्ताको समय सकियो, सभापतिका लागि चार जनाले फाराम लगे

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले उम्मेदवारका लागि फाराम वितरण गरिरहेको छ। निर्वाचन समितिले आज साँझ साढे सात बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ। निर्वाचन समितिका अनुसार हालसम्म सभापति पदका लागि उम्मेदवारी दिने तयारीसहित चार जनाले फाराम लगेका छन्। तर, फाराम लैजाने व्यक्तिहरूको नाम र सम्पर्क विवरण अहिलेसम्म टिपोट नगरिएको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार मनोनयन दर्ताका क्रममा मात्रै उम्मेदवारका सम्पूर्ण विवरण लिखित रूपमा संकलन गरिनेछ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार सभापति पदका उम्मेदवारले ३० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ शुल्क तोकिएको छ। सहमहामन्त्री पदका उम्मेदवारले २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपैयाँ बुझाउनुपर्ने केसीले जानकारी दिए।

यसैबीच, पार्टीभित्र देखिएका विवाद समाधानका लागि विशेष पक्ष र संस्थापन समूहबीच छलफल जारी छ। उक्त छलफलबाट निस्कने निष्कर्षअनुसार विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइने निर्वाचन समितिको भनाइ छ। संस्थापन समूहले विशेष पक्षको गतिविधि र निर्णयलाई आधार मानेर आगामी रणनीति तय गर्ने तयारी गरेको बताइएको छ।

उता, संस्थापन समूहको तर्फबाट पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बोलाइएको छ। तर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठक स्थगित गरी वरिष्ठ नेताहरूसँग छलफलमा जुटेको स्रोतले जनाएको छ। पार्टीभित्रको आन्तरिक सहमति र महाधिवेशनको दिशा तय गर्न यी छलफललाई महत्वपूर्ण मानिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्