काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले मंगलबार दिउँसो ४ बजेसम्म ३० वटा उम्मेदवारी फाराम वितरण गरिसकेको जनाएको छ ।
निर्वाचन समितिका अनुसार वितरण गरिएका फाराममध्ये ३ वटा सभापति पदका उम्मेदवारका लागि तय गरिएका हुन् । हाल फाराम वितरणको काम जारी रहेको र फाराम बुझाउने कार्य भने साँझ ५ बजेपछि मात्र सुरु हुने समितिले जानकारी दिएको छ ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापन समूहले बेवास्ता गरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन आयोजना गरिएको हो ।
विशेष महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया नै अघि बढाएपछि संस्थापन समूहले भने त्यसलाई रोक्ने प्रयासस्वरूप छलफल आह्वान गरेको छ । उक्त छलफलमा सभापति देउवा समूह, नेता शेखर कोइराला समूह तथा विशेष महाधिवेशन पक्षका नेताहरू सहभागी छन् ।
यसैबीच कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक पनि जारी रहेको छ ।






