देउवा पार्टी एकता जोगाउन महामन्त्रीद्वयसँग संवाद चाहन्छन्ः रामहरि खतिवडा

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनको कार्यविधि पारित गर्दै अघि बढेपछि पार्टीभित्र एकता जोगाउने प्रयास तीव्र बनेको छ। सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग संवाद सुरु गरेका छन्। विशेष महाधिवेशनले नेतृत्व चयन प्रक्रिया अघि बढाउने निर्णय गरेपछि सभापति देउवाले आफू निकटका पदाधिकारी तथा नेताहरूसँग छलफल गरिरहेका छन्। सो क्रममा दुवै महामन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने विषयमा कुराकानी भइरहेको नेता रामहरि खतिवडाले जानकारी दिए।

देउवा निवास बाहिर पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले सभापति देउवा पार्टी एकतामै केन्द्रित रहेको बताए। “सभापतिज्यू पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रयासमै हुनुहुन्छ। शेखर कोइराला, मिनेन्द्र रिजाललगायत नेताहरू उहाँलाई भेटेर जानुभएको छ,” खतिवडाले भने, “आफ्नै कार्यकालमा पार्टी फुटोस् भन्ने चाहना सभापतिज्यूको छैन।”

खतिवडाका अनुसार पार्टी एकता टुट्न नदिन सोमबार ९० भन्दा बढी केन्द्रीय सदस्यले सभापति देउवासँग छलफल गरेका थिए। “हामी सबै एकताको पक्षमा छौं। कसैले पनि आफ्नो अडान मात्र नलियोस् भन्ने हाम्रो जोड छ,” उनले भने, “शेखर कोइरालाले पनि महामन्त्री विश्वप्रकाश शर्मासँग संवाद भइरहेको जानकारी दिनुभएको छ। गगन थापासँग पनि संवाद जारी छ।”

उनले विशेष महाधिवेशन स्थलमा आफू नदेखिएको विषयमा धेरैले प्रश्न गरेको उल्लेख गर्दै अहिलेको प्राथमिकता पार्टी एकता भएको बताए। “विशेष महाधिवेशनमा गएर सम्बोधन गर्दा एकता सम्भव हुन्छ भने त्यसका लागि पनि प्रयासरत छु,” खतिवडाले भने। उता, भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रले सोमबार देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद समाप्त भएको निष्कर्ष निकाल्दै १५औँ महाधिवेशनसम्मका लागि नेतृत्व चयन प्रक्रिया अघि बढाउने कार्यविधि पारित गरेको छ।

यसैबीच, नेता शेखर कोइरालाले सोमबार बिहान आफू निकटका पदाधिकारी तथा कानुन व्यवसायीसँग छलफल गरेका थिए। त्यसपछि उनका निकटका नेताहरूले महामन्त्री विश्वप्रकाश शर्मासँग संवाद गरेको स्रोतले जनाएको छ। एक नेताका अनुसार विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा सीमित गर्दै संकल्प प्रस्ताव पारित गरेर जाने विकल्पबारे पनि छलफल भएको थियो।

शेखर कोइरालासहितको टोलीले त्यसपछि सभापति देउवालाई महाराजगन्जस्थित निवासमा भेटेर विशेष महाधिवेशन पक्षसँग भएका संवादबारे जानकारी गराएको थियो। देउवाले पनि गगन–विश्वसँग अन्य माध्यमबाट कुराकानी भइरहेको जानकारी दिएको स्रोतले बताएको छ।

शेखर कोइराला पक्षका नेता बद्री पाण्डेले दुवै पक्षसँग संवाद भएको पुष्टि गर्दै अहिलेसम्म ठोस सहमति भने नजुटेको बताएका छन्। हाल विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल जारी छ। छलफलपछि नेतृत्व चयन गर्ने वा नीति तथा संकल्प प्रस्ताव पारित गरेर अघि बढ्ने भन्ने विषयमा निष्कर्ष निकालिनेछ। नेतृत्व परिवर्तनतर्फ गए विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने र सोही दिन निर्वाचन कार्यक्रम हुने जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्