काठमाडौं – नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि नगर्न सबैलाई अपिल गर्नुभएको छ । खड्काले आज एक विज्ञप्ति जारी गर्दै देशको वर्तमान विषम परिस्थितिलाई गम्भीर रूपमा मनन गर्दै पार्टीभित्र उत्पन्न असहज अवस्थाको अन्त्य गर्न सबै नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।
विज्ञप्तिमा उहाँले नेपाली कांग्रेसका सबै सदस्य, केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा तहका पदाधिकारी तथा सदस्यहरू, साथै भ्रातृ र शुभेच्छुक संस्थाहरूका पदाधिकारी तथा कार्यकर्ताहरूलाई पार्टी एकतामा जोड दिन आग्रह गर्नुभएको छ ।
‘यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ, ‘पार्टीलाई बलियो र जीवन्त बनाउन सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु ।’
खड्काले आपसी समझदारी, संवाद र अनुशासनमार्फत पार्टीभित्रका समस्या समाधान गर्दै कांग्रेसलाई लोकतान्त्रिक र जिम्मेवार शक्तिका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।






