काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारले आज अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।
निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस गरेको बन्दसूचीमा समावेश उम्मेदवारहरूले आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगका समानुपातिक निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यससम्बन्धी जानकारी सबै सम्बन्धित उम्मेदवारलाई गराइसकिएको छ । आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने उहाँले जानकारी दिनुभयो ।
बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ । कुनै कारणवश उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि उम्मेदवारी फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ ।
कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।






