दार्चुलाबाट कांग्रेस सभापतिसहित केहि प्रतिनिधि विशेष महाधिवेशनको समर्थनमा सहभागी

काठमाडौँ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको समर्थनमा दार्चुलाबाट पार्टी सभापतिसहितको टोली काठमाडौँ पुगेको छ । दार्चुला जिल्ला सभापति ललितसिंह बोहराको नेतृत्वमा सचिव पुलेन्द्र कार्की तथा ७ जना महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी हुँदै समर्थन जनाउन उपस्थित भएका हुन् ।

विशेष महाधिवेशनमा दार्चुलाबाट महाधिवेशन प्रतिनिधि नरेन्द्रसिंह धामी, करविर कार्की, दिलिपसिंह बुढाथोकी, हरक बिष्ट, आनन्दी पन्त भट्टलगायतको उपस्थिति रहेको छ । उनीहरूले पार्टी सुधार, सुशासन र संगठन सुदृढीकरणका लागि विशेष महाधिवेशन आवश्यक रहेको धारणा राख्दै समर्थन जनाएका छन् । यद्यपि कांग्रेस नेता गणेश भट्ट पनि कार्यक्रममा सहभागी भए तापनि उहाँले यस विषयमा खासै प्रतिक्रिया दिनुभएको छैन ।

यसैबीच, नेपाली कांग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधि नरेन्द्रसिंह धामीले कांग्रेसको दीर्घकालीन हितका लागि दोस्रो विशेष महाधिवेशन अपरिहार्य रहेको बताउनुभएको छ । उपहार खबरसँग कुराकानी गर्दै उहाँले पार्टी लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्नुपर्ने र भेलाबाट व्यक्त भएको बहुमतको निर्णयलाई सबैले कदर गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

‘यो भेला कांग्रेसको हित र सुशासनको पक्षमा अघि बढेको हो,’ नेता धामीले भन्नुभयो, ‘अब पार्टीभित्र आत्मसमीक्षा आवश्यक भइसकेको छ । नेतृत्वले पनि सुध्रिनुपर्ने र समयअनुसार परिवर्तन स्वीकार गर्नुपर्ने बेला आएको छ ।’

नेता धामीका अनुसार दोस्रो विशेष महाधिवेशनले कांग्रेसलाई नयाँ दिशा, नयाँ ऊर्जा र जनउत्तरदायी नेतृत्वतर्फ अघि बढाउने विश्वास गरिएको छ । उहाँले यो अभियान कुनै व्यक्ति केन्द्रित नभई पार्टी सुधार र सुशासनको साझा अभियान भएको स्पष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्