काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा दार्चुलाबाट महाधिवेशन प्रतिनिधि नरेन्द्र सिँह धामीले पार्टीको हित, सुशासन र आन्तरिक सुधारका लागि दोस्रो विशेष महाधिवेशन आवश्यक रहेको बताउनुभएको छ । विशेष महाधिवेशनका समर्थक समेत रहनुभएका नेता धामीले उपहार खबरसँग कुराकानी गर्दै कांग्रेसलाई सही दिशामा अघि बढाउन बहुमतको निर्णयलाई सबैले कदर गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँका अनुसार विशेष महाधिवेशन कुनै व्यक्ति वा गुटका लागि नभई पार्टीलाई जीवन्त, उत्तरदायी र सुशासित बनाउने अभियान हो । ‘यो भेला कांग्रेसको हितका लागि अघि बढेको हो,’ धामीले भन्नुभयो, ‘भेलाबाट आएको बहुमतको आवाजलाई सबैले सम्मान गर्नुपर्छ । अब पार्टीभित्र सुधार आवश्यक भइसकेको छ र नेतृत्वले पनि आत्मसमीक्षा गर्दै सुध्रिनुपर्ने बेला आएको छ ।’
नेता धामीले विशेष महाधिवेशन सुशासनको माग, संगठन सुदृढीकरण र कांग्रेसलाई जनताको भरोसायोग्य पार्टीका रूपमा पुनः स्थापित गर्ने उद्देश्यले अघि बढेको स्पष्ट गर्नुभयो । उहाँले पार्टीभित्र देखिएका असन्तुष्टि र चुनौतीहरूको समाधान संवाद र लोकतान्त्रिक प्रक्रियामार्फत् नै सम्भव हुने विश्वास व्यक्त गर्नुभयो ।
दोस्रो विशेष महाधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिने र पार्टीलाई समयअनुकूल रूपान्तरण गर्ने महत्वपूर्ण अवसर भएको उहाँको भनाइ छ । नेता धामी मालिकार्जुन गाउँपालिकाका पूर्व अध्यक्ष समेत हुन् । उहाँ नेपाली कांग्रेसको सक्रिय राजनीतिमा होमिएर लागेका छन् ।






