काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र बाहिर देखिएजस्तो झगडा नभएको, बरु त्यो विचारको सङ्घर्ष भएको बताउनुभएको छ ।
पार्टीको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले कतिपयलाई अहिले कांग्रेसमा झगडा वा शक्तिको सङ्घर्ष चलिरहेको जस्तो लागे पनि वास्तविकता फरक रहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार कांग्रेसभित्र चलिरहेको बहस र गतिविधि शक्तिको लडाइँ नभई विचार र दिशाको सङ्घर्ष हो ।
महामन्त्री थापाले भदौ २३ र २४ गते भएका आन्दोलन नवयुवाको मात्र नभई देशभरका लाखौँ नागरिकको आक्रोशको अभिव्यक्ति भएको बताउनुभयो । ‘राजाको छोरा राजा हुने राजतन्त्र फालेर ल्याएको गणतन्त्रमा नेपो–बेबीहरूको राज देखेर नागरिकहरू आक्रोशित भएका हुन्,’ उहाँले भन्नुभयो, ‘त्यही आमनागरिकको रिस जेनजी आन्दोलनका क्रममा सडकमा पोखिएको हो ।’
थापाले विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि सहभागी होऊन् भन्ने आफूहरूको चाहना रहेको उल्लेख गर्नुभयो । उहाँले विशेष महाधिवेशनले कांग्रेसभित्र वैचारिक स्पष्टता र नयाँ दिशाको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।






