ग्यास सिलिन्डर विस्फोट, दुलहा–दुलहीसहित आठ जनाको मृत्यु

(AP Photo/Ehsan Shahzad)

काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामाबादमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुलहा–दुलहीसहित कम्तीमा आठ जनाको ज्यान गएको छ । विवाह समारोह सम्पन्न भएपछि दुलहा–दुलहीसहित पाहुनाहरू सुतेको घरमा ग्यास सिलिन्डर विस्फोट भएको पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ । विस्फोटमा परेर थप सात जना गम्भीर घाइते भएका छन्, जसको अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घरभित्र रहेको एलपीजी ग्यास सिलिन्डर चुहावट भएर विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । विस्फोट यति शक्तिशाली थियो कि घरको ठूलो भाग ध्वस्त भएको बताइएको छ । पाकिस्तानका धेरै घरपरिवारहरू प्राकृतिक ग्यासको न्यून चापका कारण तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) सिलिन्डर प्रयोग गर्न बाध्य छन् । यस्ता सिलिन्डरमा ग्यास चुहावट, कमजोर सुरक्षा मापदण्ड र लापरवाहीका कारण यसअघि पनि पटक–पटक घातक दुर्घटनाहरू हुने गरेका छन् ।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । साथै उहाँले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्