आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, देशभर विविध कार्यक्रम

काठमाडौं । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। आधुनिक नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा यो दिवस मनाइने गरिएको हो।

वि.सं. १७७९ सालमा जन्मिएका पृथ्वीनारायण शाहको आज ३०४औँ जन्मजयन्ती परेको छ। उहाँले आधुनिक नेपालको एकीकरणमा पुर्‍याएको ऐतिहासिक योगदानको स्मरण गर्दै आज प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम ढोकाअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा पुष्पमाला अर्पण गरी सम्मान व्यक्त गरिँदैछ।

पृथ्वी जयन्तीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चियापान समारोहको आयोजना गरेको छ। पृथ्वीनारायण शाहको जन्मस्थान गोरखामा हरेक वर्ष विशेष कार्यक्रमसहित पृथ्वी जयन्ती मनाउने परम्परा रहँदै आएको छ।

यसै अवसरमा नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गीअड्डामा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्ने कार्यक्रम राखेको छ।

पृथ्वीनारायण शाहको वि.सं. १८३१ सालमा ५२ वर्षको उमेरमा निधन भएको थियो। उहाँले आफ्नो शासनकालमा दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताइन्छ।

पृथ्वी जयन्तीका अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्योपदेश राष्ट्रियता, आत्मनिर्भर तथा स्वावलम्बी अर्थतन्त्र र सन्तुलित परराष्ट्र नीतिका सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ। त्यस्तै, पूर्व राजा ज्ञानेन्द्र शाहले सन्देशमार्फत देश हाल विभिन्न संकटमा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले राष्ट्रिय एकता, स्वाधीनता र राष्ट्रनिर्माणप्रति पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गराउँदै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्