रास्वपा–उज्यालो नेपाल एकता १२ दिनमै भंग, पद र नेतृत्व विवाद मुख्य कारण

काठमाडौं । पुराना राजनीतिक शक्तिलाई चुनौती दिँदै नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यसहित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता १२ दिनमै भंग भएको छ। सात बुँदे सहमतिका आधारमा भएको एकता पद, भूमिका र नेतृत्वको स्पष्ट शक्ति बाँडफाँड नहुँदा टिक्न नसकेको दुवै पक्षभित्रको बुझाइ छ। सार्वजनिक रूपमा सैद्धान्तिक र प्रक्रियागत कारण देखाइए पनि वास्तविक रूपमा पदको हैसियत, केन्द्रीय समितिको संख्या, समानुपातिक उम्मेदवार छनोट र नेतृत्व वर्चस्वको विवाद नै निर्णायक बनेको देखिन्छ।

सहमति अनुसार पार्टीको नाम, झन्डा र चुनाव चिह्न रास्वपाकै रहने, सभापति रवि लामिछाने यथावत् रहने र कुलमान घिसिङसहित तीन उपसभापति रहने व्यवस्था गरिएको थियो। यसलाई उज्यालो नेपाल पक्षले समान हैसियतको साझेदारी नभई विलयको प्रयासका रूपमा लिएको थियो। उपसभापतिको वरीयता, महामन्त्री पद, केन्द्रीय समितिमा प्रतिनिधित्व र समानुपातिक सूचीलाई लिएर असन्तुष्टि चुलिँदै गएपछि अन्ततः एकता भंग भयो।

एकतापछि निर्णय प्रक्रियामा आफूहरूको भूमिका सीमित भएको महसुस गर्दै उज्यालो नेपाल पार्टीले अलग बाटो रोजेको हो। सोही क्रममा कुलमान घिसिङले उज्यालो नेपाल पार्टीलाई पुनः स्वतन्त्र रूपमा अघि बढाउने निर्णय गर्दै अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।

यो घटनाले नयाँ राजनीतिक शक्ति निर्माण नाराले मात्र सम्भव नहुने र स्पष्ट संरचना, लोकतान्त्रिक अभ्यास तथा शक्ति सन्तुलन बिना एकता दिगो नहुने सन्देश दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्