काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुन लागेको पार्टीको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ। काठमाडौंको भृकुटीमण्डपमा भोलि र पर्सि विशेष महाधिवेशन आयोजना गर्न लागिएको हो। विशेष महाधिवेशनका लागि काठमाडौं उपत्यकाका विभिन्न सडक पार्टीका झण्डाले सजाइएका छन्। महाधिवेशन स्थल भृकुटीमण्डपमा मञ्च निर्माण, हल सजावटलगायत प्राविधिक तयारीका कामहरू भइरहेको आयोजकले जनाएको छ। आयोजक पक्षले विशेष महाधिवेशनको सन्देश पार्टी कार्यकर्ता र आमनागरिकसम्म पुर्याउने अपेक्षा लिएको छ। कांग्रेसभित्र संस्थापन पक्षको असहमतिका बीच आयोजना हुन लागेको यो विशेष महाधिवेशनलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ।
भोलि दिउँसो १२ बजे उद्घाटन समारोह सुरु हुनुअघि सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस, कमलपोखरी र कुपण्डोलबाट जुलुस प्रदर्शन गरिने कार्यक्रम रहेको छ। विशेष महाधिवेशन पक्षले संस्थापन पक्षबाट बहुमत पुग्न नदिन प्रतिनिधिहरूमाथि दबाब सिर्जना गरिए पनि ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेको दाबी गरेको छ। कतिपय जिल्लामा ९५ प्रतिशतभन्दा बढी प्रतिनिधिहरूले हस्ताक्षर गरेको पनि आयोजक पक्षको भनाइ छ।
यसैबीच कर्णाली प्रदेशका १० जिल्लामध्ये ९ जिल्लाका नेपाली कांग्रेसका सभापतिहरूले विशेष महाधिवेशनमा सहभागी नहुन अपिल गरेका छन्। नेपाली कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंह, मुगुका सभापति ऐनबहादुर शाही, जुम्लाका सभापति कर्णबहादुर शाही, कालीकोटका सभापति अम्बहादुर शाही, डोल्पाका कार्यवाहक सभापति लवकुमार शाही, जाजरकोटका सभापति वेदराज सिंह, दैलेखका सभापति मणिराम रेग्मी, रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओली, सुर्खेतका सभापति खड्गबहादुर पोखरेल र सल्यानका उपसभापति सन्तोष ओलीले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक निर्णयबिना व्यक्ति विशेषबाट आह्वान गरिएको विशेष महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका हुन्।
त्यसैगरी नेपाली कांग्रेस मधेश प्रदेशअन्तर्गत आठ जिल्लाका सभापतिहरूले पनि पार्टी विधानविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यलाई आग्रह गरेका छन्। उनीहरूले संयुक्त विज्ञप्ति निकाल्दै विधानअनुसार महाधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्र निहित रहेको भन्दै प्रस्तावित विशेष महाधिवेशनमा सहभागी नहुन अपिल गरेका छन्।







