विशेष महाधिवेशनमार्फत भएपनि नेपाली कांग्रेसको रुपान्तरण आवश्यक छ: अधिवक्ता जोशी

काठमाडौं – समाजसेवी तथा अनुभवी अधिवक्ता धर्मानन्द जोशीले जनताले नेपाली कांग्रेस सुध्रिएको र रुपान्तरण भएको रूपमा देख्न चाहिरहेको बताएका छन्। उहाँका अनुसार पार्टी रुपान्तरण हुने विधिवत् प्रक्रिया महाधिवेशन नै हो। जोशीले पुसमा हुने भनिएको नियमित महाधिवेशन वैशाखमा सारिएको अवस्थामा पार्टीको सार्वभौमसत्ता निहित महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्नु स्वाभाविक भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनका लागि हलसमेत बुक गरिएको छ।

नेपाली कांग्रेस रुपान्तरण पनि होस् र पार्टी नटुक्रियोस् भन्ने सबैको गम्भीर चाहना रहेको उल्लेख गर्दै जोशीले यदि विशेष महाधिवेशनमा ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने अवस्था बनेमा पार्टी सभापति शेरबहादुर देउवाले नै अध्यक्षता गरी विशेष महाधिवेशनबाट आउने परिणामको व्यवस्थापन गर्दै पार्टीलाई एकताबद्ध राख्ने र रुपान्तरणको स्पष्ट मार्गचित्र तय गरेर अघि बढ्नु उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो।

बहुमत महाधिवेशन प्रतिनिधिहरू सहभागी भएको महाधिवेशन पार्टीको सर्वोच्च निकाय हुने भएकाले त्यसले आफ्नै एजेण्डा, कार्यविधि र निर्णयहरू अघि बढाउने अवस्था आउन सक्ने उहाँको भनाइ छ। त्यसैले समयमै नेतृत्वले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

समय र सन्दर्भ सुखद नरहेको, आन्तरिक विवाद पीडादायी बन्दै गएको उल्लेख गर्दै यसको उचित व्यवस्थापन गर्ने अभिभावकत्व पार्टी सभापति, पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको जिम्मेवारी भएको जोशीको भनाइ छ। साथै उहाँले समय र परिस्थितिले नवपुस्ता, जनता तथा मतदाताको भावनालाई कदर गर्न पनि स्पष्ट सन्देश दिएको बताउनुभयो।

हाल संयुक्त राष्ट्र संघमा मानव अधिकारको क्षेत्रमा कार्यरत जोशीले समय परिवर्तनशील हुने भएकाले सुधार र रुपान्तरण निरन्तर प्रक्रिया भएको उल्लेख गर्दै पुसपछिसमेत नेपाली कांग्रेसको सुधार र रुपान्तरणको यात्रा जारी रहने धारणा व्यक्त गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्