काठमाडौं – नेपाल अर्बुद रोग निवारण संस्थाको ३५औँ केन्द्रीयसभाको उद्घाटन कार्यक्रम शुक्रबार ललितपुरमा सम्पन्न भएको छ। ललितपुरको बालकुमारीस्थित संस्थाको केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन सत्रमा सरकारी, गैरसरकारी तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रमका विशेष अतिथि पूर्वमन्त्री तेजुलाल चौधरी रहेका थिए।
उद्घाटन सत्रमा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे, नेपाल क्यान्सर अस्पताल हरिसिद्धिका संस्थापक अध्यक्ष डा. सुदीप श्रेष्ठ, ललितपुर महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजु महर्जन, संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार दिवाकर राजभण्डारी, पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष एवं सल्लाहकार जितबहादुर श्रेष्ठ, निवर्तमान केन्द्रीय अध्यक्ष लक्ष्मणकुमार श्रेष्ठलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।
केन्द्रीयसभामार्फत अर्बुद (क्यान्सर) रोगसम्बन्धी जनचेतना अभिवृद्धि, रोकथाम तथा उपचार सेवाका क्षेत्रमा संस्थाले आगामी वर्षमा सञ्चालन गर्ने योजना र प्राथमिकताहरूबारे छलफल गरिने संस्थाले जनाएको छ।
क्यान्सर रोगबारे जनमानसमा चेतना फैलाउने, प्रारम्भिक लक्षण पहिचान तथा रोग रोकथाममा योगदान पुर्याउने उद्देश्यका साथ वि.सं. २०३९ साल भदौ ३१ गते स्थापना भएको नेपाल अर्बुद रोग निवारण संस्था क्यान्सरविरुद्धको अभियानमा निरन्तर क्रियाशील रहँदै आएको छ। संस्थाले नेपाल सरकार, स्थानीय तह, स्वदेशी तथा विदेशी संघसंस्था र निजी क्षेत्रसँग सहकार्य गर्दै आफ्नो उद्देश्य प्राप्तिका लागि कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।






