काठमाडौँ – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि तराई तथा पहाडी भेगका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ भने दिउँसोसमेत तराई भूभागका धेरै ठाउँमा अबेलासम्म हुस्सु तथा कुहिरो रहने महाशाखाको पूर्वानुमान छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई क्षेत्रमा हुस्सु तथा कुहिरोको प्रभावका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यसैबीच, देशभर चिसो बढेको छ। काठमाडौँमा आज बिहानको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ। डडेलधुरा, दीपायल, सुर्खेतलगायत स्थानको तापक्रम काठमाडौँभन्दा कम रहेको छ भने जुम्ला, जोमसोम, जिरीलगायत हिमाली भेगमा तापक्रम माइनसमा झरेको छ।







