राजनीतिक दललाई शुल्क लिएर देशभरको मतदाता विवरण उपलब्ध गराउने व्यवस्था

काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई आवश्यक परेमा देशभरका मतदाताको विवरण निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ।

आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरको मतदाता नामावली लिन १० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। यस्तो विवरण निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई दलको औपचारिक पत्रका आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकका विवरण विद्युतीय रूपमा उपलब्ध गराइनेछ। उक्त विवरण हार्डड्राइभ वा पेनड्राइभमार्फत प्रदान गरिने व्यवस्था गरिएको छ। यदि कुनै दलले एउटा प्रदेशको मात्र मतदाता विवरण चाहेको खण्डमा पाँच हजार रुपैयाँ शुल्क तिरेर लिन सक्नेछ।

निर्देशिकामा निर्वाचन अधिकृतले कुनै मतदाता, दलको प्रतिनिधि वा उम्मेदवारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा सार्न चाहेमा नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाउने गरी हेर्न वा सार्न दिनुपर्ने व्यवस्था पनि गरिएको छ।

फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले मात्र हेर्न पाउनेछन् भने फोटोबाहेकको मतदाता नामावली भने जोसुकैले हेर्न सक्ने व्यवस्था गरिएको छ। यसबारे मतदाता, राजनीतिक दल तथा उम्मेदवारलाई जानकारी गराउनुपर्ने आयोगले जनाएको छ।

यस्तै, कुनै मतदाताले आफ्नो मात्र मतदाता नामावली लिन चाहेमा निर्वाचन कार्यालयले १० हजार रुपैयाँ शुल्क लिई सोही मतदाताको विवरण मात्र समावेश हुने गरी मतदाता नामावलीको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ। तर, विवरण उपलब्ध गराउँदा मतदाताको जन्ममिति, मोबाइल नम्बर र नागरिकताको विवरण भने प्रदान गर्न नपाइने स्पष्ट गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्