काठमाडौँ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताका लागि अनलाइन माध्यमबाट ग्राहक विवरण (केवाईसी) अपडेट गर्न सकिने सेवाको परीक्षण सुरु गरेको छ। कम्पनीले सुन्धारास्थित दूरसञ्चार कार्यालयबाट क्यूआर कोड स्क्यान गरी डिजिटल रूपमा केवाईसी अद्यावधिक गर्न सकिने प्रणालीको परीक्षण थालेको हो।
सेवाको संयुक्त रूपमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र बागमती प्रदेशका निर्देशक इन्दल यादवले उद्घाटन गरेका हुन्। यो सेवामार्फत ग्राहकले आफ्नो नाम वा अन्य व्यक्तिगत विवरण सच्याउनु परेमा कार्यालयमा उपलब्ध क्यूआर कोड स्क्यान गरी अनलाइन फारम भरी केवाईसी अपडेट गर्न सक्नेछन्।
उद्घाटन कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृत मातन्छेले नयाँ सुविधाले टेलिकमको सेवालाई थप सहज र ग्राहकमैत्री बनाउने उल्लेख गरे। उनले डिजिटल माध्यमको प्रयोगले सेवा प्रवाहमा समय र झन्झट कम हुने विश्वास व्यक्त गरे।
यस्तै, बागमती प्रदेशका निर्देशक यादवले प्रविधिको प्रभावकारी प्रयोगबाट थोरै समयमा धेरै काम सम्पन्न गर्न सकिने र यसले कम्पनीको उत्पादकत्व वृद्धि गर्ने धारणा राखे।
दूरसञ्चार कार्यालय सुन्धाराका प्रमुख निर्मल चटौतका अनुसार नयाँ प्रणालीले डिजिटल रूपान्तरण र पेपरलेस कार्य प्रणालीलाई प्रवर्द्धन गर्नुका साथै डेटा अद्यावधिक गर्ने प्रक्रियालाई छिटो र सरल बनाउनेछ। ग्राहकले क्यूआर कोडमार्फत भरेको विवरण टेलिकमको प्रणालीबाट प्रमाणित भएपछि स्वतः अद्यावधिक हुने व्यवस्था मिलाइएको छ।
सुन्धारा कार्यालयमा गरिएको परीक्षण सफल भएपछि क्रमशः काठमाडौँ उपत्यकाका अन्य कार्यालय तथा देशभर विस्तार गरिने नेपाल टेलिकमले जनाएको छ। साथै, निकट भविष्यमै नेपाल टेलिकमको आधिकारिक वेबसाइट र मोबाइल एपमार्फत पनि घरमै बसेर केवाईसी अपडेट गर्न सकिने व्यवस्था गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ।






