कोरिया रोजगारीका लागि रोस्टर म्याद थप्न कूटनीतिक पहल

काठमाडौं – सरकारले भाषा परीक्षा पास गरी रोजगारीका लागि दक्षिण कोरिया जान रोस्टरमा रहेका नेपाली श्रमिकहरूको म्याद थप्न कूटनीतिक पहल गर्ने निर्णय गरेको छ।

रोस्टरमा रहेका झन्डै १२ हजार नेपाली श्रमिकको अवसर गुम्ने जोखिम बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरिया सरकारसँग म्याद थपका लागि कूटनीतिक पहल गर्ने निर्णय गरेको हो।

मन्त्रालयका अनुसार सन् २०२४ मा कृषि, पानीजहाज (शिपबिल्डिङ) तथा कोरियाबाट फर्किएर पुनः छनोट भएका (सीबीटी) गरी करिब १२ हजार श्रमिकको रोस्टर म्याद फेब्रुअरीको अन्त्यसम्म सकिँदै छ। म्याद नथपिए उनीहरूको नाम कोरिया जाने सूचीबाट हट्नेछ।

नेपाल–कोरिया श्रम सम्झौताअनुसार भाषा परीक्षा, सीप परीक्षण र मेडिकलमा उत्तीर्ण भएका श्रमिकलाई दुई वर्षका लागि रोस्टरमा राख्ने व्यवस्था छ।

यसैबीच, सरकारले रोस्टरमा रहेका व्यक्तिको विवरण रोजगारदातासमक्ष पठाउने प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्न पीताम्बर घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।

उता, कोरियाले सन् २०२६ का लागि नेपालसहित स्रोत देशहरूबाट ८० हजार विदेशी श्रमिक लैजाने योजना बनाएको छ। यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ३८ दशमलव ४६ प्रतिशतले कम हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्