नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट घटकहरूलाई एकीकृत गर्न पार्टी अग्रसर रहेको बताएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धिलाई सुदृढ गर्न बृहत् राष्ट्रिय एकताको आवश्यकता रहेको बताए। सोही आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न १७ वटा साना–ठूला कम्युनिस्ट घटकलाई समेटेर नेकपा गठन गरिएको उनको भनाइ छ।
प्रचण्डले पछिल्लो समय सबै प्रदेश, जिल्ला र पालिकामा युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दै गएको दाबी गरे। विशेषगरी जेनजी युवाहरूले आफ्ना विचार र भावनालाई सही ढंगले प्रतिनिधित्व गर्ने पार्टीका रूपमा नेकपालाई बुझ्न थालेको उनले बताए।
उनले भने, ‘यो राष्ट्रको एकता र स्वाधीनतालाई सुदृढ गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ। देशलाई आर्थिक रूपमा समृद्ध बनाउने दायित्व पनि हाम्रो काँधमै छ। यो एक्लै गरेर सम्भव छैन, त्यसका लागि बृहत् राष्ट्रिय एकता आवश्यक पर्छ। यही उद्देश्यका साथ हामीले विभिन्न १७ वटा साना–ठूला कम्युनिस्ट घटकलाई एकताबद्ध गर्दै नेकपा स्थापना गरेर अघि बढेका हौं।’
यो प्रक्रियासँगै देशभर युवाहरू पार्टीतर्फ केन्द्रित हुने क्रम बढेको उनले उल्लेख गरे। कार्यक्रममा सहभागी अधिकांश नयाँ सदस्य युवापुस्ता भएको उल्लेख गर्दै उनले यसले देशभर सकारात्मक सन्देश प्रवाह भएको बताए।
कार्यक्रमको अन्त्यमा प्रचण्डले मुलुकको बृहत्तर हितका लागि सधैं तत्पर रहन सबैलाई आग्रह गर्दै पार्टीमा प्रवेश गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।






