काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका व्यक्तिहरूमाथि आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार हिजो सातै प्रदेशका राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो ।
निर्वाचन कार्यतालिकाअनुसार आज उजुरी परेमा पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशित गरिनेछ । त्यसपछि पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
राष्ट्रिय सभाको १८ सिटका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । ती सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।
यस्तै, प्रतिनिधि सभा निर्वाचन फागुन ११ गते हुने भएको छ । प्रतिनिधि सभा निर्वाचन हुन अब ५७ दिन बाँकी रहेको छ ।






