काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनका नाममा आयोजना गरिने गतिविधिमा सहभागी नहुन पार्टीका सबै तहका नेता–कार्यकर्ता र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टी विधानविपरीत हुने स्पष्ट पारेका छन् । विज्ञप्तिमा पार्टीका पदाधिकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्था, साथै विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई यस्ता गतिविधिमा संलग्न नहुन हार्दिक अपिल गरिएको छ ।
५४ प्रतिशत विशेष महाधिवेशन पक्षधरहरूले पुस २७ गतेदेखि विशेष महाधिवेशन गर्ने घोषणा गरेपछि त्यसतर्फ लक्षित गर्दै कांग्रेसले उक्त कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको हो ।
विज्ञप्तिमा विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई नभई केवल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट उल्लेख गरिएको छ । पार्टीको विधानअनुसार केन्द्रीय कार्यसमितिको सर्वसम्मत् निर्णयबाट कार्यतालिका तय भई अधिवेशन–महाधिवेशनको प्रक्रिया अघि बढिरहेको अवस्थामा विशेष महाधिवेशनको मागको औचित्य समाप्त भइसकेको कांग्रेसको ठहर छ ।
‘पार्टीको विधानमा व्यवस्था भएबमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
पार्टी विधानको धारा १७ को उपधारा २ अनुसार आवश्यक हस्ताक्षर बुझाएको तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था रहे पनि हालको अवस्थामा त्यसको वैधानिकता नरहेको कांग्रेसको निष्कर्ष छ ।






