काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयसमेत सम्हाल्दै आएका घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
बालुवाटारबाट फर्किएपछि घिसिङले ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामाबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।
चुनाव गराउने स्पष्ट ‘म्यान्डेट’सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय भएको विषयलाई लिएर जनस्तरबाट पटक–पटक प्रश्न उठ्दै आएका थिए । यही पृष्ठभूमिमा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमा नामै तोकेर मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी थिइन् ।
घिसिङ यसअघि अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक रहेका थिए । पछि राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण भएपछि उनी सो पार्टीका वरिष्ठ उपसभापति बनेका थिए ।
घिसिङ गत भदौ ३० गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा नियुक्त भएका थिए ।






