नेपाली कांग्रेस: पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा

काठमाडौँ — नेपाली कांग्रेसमा देखिएको पछिल्लो आन्तरिक विवादबीच विशेष महाधिवेशन आह्वान गरिएको छ। विशेष महाधिवेशन सञ्चार तथा प्रचार–प्रसार समितिले काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो।

विशेष महाधिवेशन पक्षधरले जारी गरेको विज्ञप्तिमा पार्टीले २०८२ पुस २८ भित्र १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरे पनि तोकिएको समयभित्र महाधिवेशन हुन नसकेको उल्लेख गरिएको छ। “यस्तो अवस्थामा हाम्रो मागबमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको छ,” विज्ञप्तिमा भनिएको छ।

पार्टी विधानको मर्म र भावनालाई सम्मान गर्दै बाध्यकारी अवस्थामा विशेष महाधिवेशन आह्वान गरिएको पक्षधरको दाबी छ। उनीहरूले यही २०८२ पुस २७ र २८ गते काठमाडौँमा हुने विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई उत्साहपूर्ण सहभागिताका लागि आग्रह गरेका छन्।

विशेष महाधिवेशनका लागि सचिवालयका तर्फबाट शान्ति सुरक्षाको व्यवस्थाका लागि स्थानीय प्रशासनसँग पत्राचार भइसकेको जनाइएको छ। साथै महाधिवेशनका लागि भृकुटीमण्डप यसअघि नै बुकिङ गरिएको र विभिन्न उपसमितिहरू पनि गठन गरिएको जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेकाले अब विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन्। तर पार्टी सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि विशेष महाधिवेशन गर्न नसकिने अडान लिएको छ।

यससँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्