अमेरिकाले नेपाललाई पनि भिसा लिँदा धरौटी (भिसा बन्ड) राख्नुपर्ने देशहरूको सूचीमा समावेश गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार आगामी जनवरी २६ तारिखदेखि बी–वान (B-1) र बी–टु (B-2) अर्थात् पर्यटक तथा व्यावसायिक भिसा लिने नेपाली नागरिकले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर धरौटी रकम पेश गर्नुपर्नेछ।
भिसाका लागि हुने अन्तर्वार्ताका क्रममा कन्सुलर अफिसरले आवेदकको अवस्था मूल्यांकन गरी धरौटी रकम तोक्नेछन्। तर धरौटी राख्दैमा भिसा जारी हुने सुनिश्चित भने हुँदैन।
अमेरिकाले हालसम्म ३८ देशका नागरिक का लागि यस्तो धरौटी व्यवस्था लागू गरिसकेको छ। दक्षिण एशियाबाट बङ्गलादेश र भुटान पनि उक्त सूचीमा परेका छन्।
अमेरिकाको यात्रा गरेर तोकिएको समयभित्र स्वदेश फर्किएमा वा भिसा कायम रहेको अवधिभित्र अमेरिका नजाँदा धरौटी रकम फिर्ता हुने व्यवस्था गरिएको छ। भिसा प्राप्त भए पनि अमेरिका प्रवेशको अनुमति नपाएको अवस्थामा पनि धरौटी फिर्ता हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
यस्तै, बी–वान/बी–टु भिसावाहकले अमेरिका प्रवेश र बहिर्गमन गर्नका लागि तीन वटा विमानस्थल मात्र प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। ती विमानस्थलमा बस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थल (BOS), न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल (JFK) र वाशिङ्टनस्थित डलस अन्तर्राष्ट्रिय विमानस्थल (IAD) रहेका छन्। यी बाहेक अन्य विमानस्थल प्रयोग गरेर अमेरिका प्रवेश वा बहिर्गमन गर्न नपाइने अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेको छ।






