काठमाडौं – राष्ट्रियसभा सदस्य चुनावका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय गरिएको छ । आयोगले आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्यको चुनाव गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि चुनाव हुन लागेको हो । हालका सदस्यहरूको कार्यकाल समाप्त भएसँगै आउँदो फागुन २० गतेदेखि १९ जना सांसद बिदा हुँदैछन् । तीमध्ये १८ सिटका लागि आज मनोनयन प्रक्रिया सुरु गरिएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका वामदेव गौतम पनि बिदा हुँदै हुनुहुनेछ । उहाँको स्थानमा भने सरकारले नै नयाँ सदस्य सिफारिस गर्ने व्यवस्था रहेको छ । निर्वाचन आयोगले यसअघि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । आयोगका अनुसार आज मनोनयन दर्तापछि भोलि उम्मेदवारविरुद्ध उजुरी दिने कार्यक्रम रहेको छ । पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन सक्नेछन् र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गरिनेछ । पुस २८ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
आयोगले राष्ट्रिय जनगणना २०७८ का आधारमा मतदाता संख्या र मतभार पनि सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा सदस्य चुनावमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता हुने व्यवस्था छ । यसैबीच राष्ट्रियसभा चुनावका लागि प्रमुख राजनीतिक दलहरूबीच सिट बाँडफाँटको अन्तिम प्रयास भइरहेको छ । कांग्रेस, एमाले, नेकपा, लोसपा र जसपा नेपालबीच सहमतिको प्रयास जारी रहेको बताइएको छ । प्रारम्भिक सहमतिअनुसार कांग्रेस र एमालेले ७–७ सिट लिने, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ३ सिट पाउने र लोसपा तथा जसपा नेपालका लागि एक सिट छुट्ट्याउने मोटामोटी खाका तयार भएको छ ।
यसै सन्दर्भमा नेपाली कांग्रेसले उम्मेदवार छनोटका लागि आज बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत बोलाएको छ ।






