काठमाडौं – कैलालीको गेटामा स्थापना गरिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले उपकुलपति र रजिष्ट्रार नियुक्त गरेको छ।
सहकुलपति तथा शिक्षामन्त्री महाविर पुनको अध्यक्षतामा मंगलबार बसेको विश्वविद्यालय सभाको बैठकले उपकुलपतिमा प्राध्यापक डा. सुनिलकुमार जोशी र रजिष्ट्रारमा खेमराज जोशीलाई नियुक्त गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ।
उपकुलपति पदका लागि दुई जनाको र रजिष्ट्रार पदका लागि १० जनाको आवेदन परेको थियो। नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले उपकुलपतिमा डा. सुनिलकुमार जोशीको नाम एकल सिफारिस गरेको थियो भने रजिष्ट्रार पदका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो।
उपकुलपति पदका लागि तेस्रो पटक दरखास्त आह्वान गरेपछि मात्र आवेदन परेको मन्त्रालयले जनाएको छ। तीमध्ये एक जनाको दरखास्त आवश्यक योग्यता नपुगेको भन्दै समितिले रद्द गरेको थियो।
गत असार महिनामा विश्वविद्यालयसम्बन्धी ऐन संसद्बाट पारित भएपछि सरकारले उपकुलपति र रजिष्ट्रार नियुक्तिको प्रक्रिया अघि बढाएको हो। सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने उद्देश्यसहित विश्वविद्यालय स्थापना तथा सञ्चालनको तयारी भइरहेको छ।
पहिलो उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति जयराज अवस्थीको संयोजकत्वमा तीन सदस्यीय छनोट तथा सिफारिस समिति गठन गरिएको थियो।






