शैल्यशिखर नगरपालिका आफ्नै सुविधायुक्त भवनमा सर्‍यो

फोटोः इन्द्र धामी नविनको फेसबुकबाट

दार्चुला । शैल्यशिखर नगरपालिका भाडाको भवनबाट आफ्नै सुविधायुक्त प्रशासकीय भवनमा सरेको छ । शहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागको करिब १० करोड १९ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएपछि नगरपालिका आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको हो ।

चादनी नमस्कार निर्माण सेवा जेभीद्वारा निर्माण गरिएको उक्त भवनमा स्थानीय पूर्वाधार विकास विभाग र शैल्यशिखर नगरपालिकाको ५०–५० प्रतिशत लगानी रहेको छ । नगर प्रमुख विजयसिंह धामी निर्वाचित भएपछि प्रशासकीय भवन निर्माण प्रक्रिया अघि बढाइएको थियो । निर्वाचित भएको तीन वर्षभित्रै शैल्यशिखर नगरपालिका–९ मा अवस्थित साविक गोकुलेश्वर गाविसको भवन रहेको क्षेत्रमा निर्माण सम्पन्न गरिएको हो ।

आइतबार आयोजित एक कार्यक्रमबीच पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नाले नगरपालिकाको प्रशासकीय भवनको समुद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री ठगुन्नाले सीमित स्रोतसाधनका बाबजुद समयमै भवन निर्माण सम्पन्न गरेकोमा नगरपालिकालाई धन्यवाद दिँदै शैल्यशिखर नगरपालिकाले भवन निर्माण गर्न नसकेको भन्ने आरोपलाई चिर्न सफल भएको बताउनुभयो ।

नगर प्रमुख धामीले भवन निर्माणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै नगर प्रमुखमा निर्वाचित भएपछि पहिलो प्राथमिकता प्रशासकीय भवन निर्माण नै रहेको बताउनुभयो । उहाँले अघिल्लो नेतृत्वको समयमा ढिलाइ भए पनि आफ्नो कार्यकालमा अठोटका साथ भवन निर्माण सम्पन्न गरिएको उल्लेख गर्नुभयो ।

सडक सञ्जाल विस्तारका विषयमा नगर प्रमुख धामीले विकट बस्ती रानिशिखरसम्म सडक ट्र्याक खोलिएको जानकारी दिनुभयो । वडा नम्बर २ को रत्यौडा, वडा नम्बर ५ को बगौरा हुँदै सडक ट्र्याक विस्तार गरिएको र वडा नम्बर ७ को खोल्सीसम्म गाडी सञ्चालन भइसकेको उहाँको भनाइ छ । कार्यक्रममा चमेलिया नदी किनारमा निर्माण भइरहेका ठूला पूर्वाधार संरचनाको सुरक्षाका लागि पक्की तटबन्ध आवश्यक रहेको उल्लेख गर्दै गोकुलेश्वर एयरपोर्टदेखि बजार क्षेत्र जोगाउन पहल गरिदिन पूर्वमन्त्री ठगुन्नासमक्ष आग्रह गरिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्टले आफ्नै भवनबाट सेवा प्रवाह सुरु भएपछि सेवाग्राहीलाई थप सहज र प्रभावकारी सेवा दिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “अब कार्यालय व्यवस्थापन, अभिलेख संरक्षण र नागरिक सेवा प्रवाह अझ व्यवस्थित र पारदर्शी हुने छ । आफ्नै भवन हुँदा प्रशासनिक कार्यक्षमता बढ्नेछ र सेवाग्राहीले एउटै छानामुनि सबै सेवा पाउने अवस्था बनेको छ ।”

कार्यक्रमका अवसरमा भवन निर्माण गर्ने निर्माण व्यवसायी सर्पराज बडूलाई प्रमुख अतिथि ठगुन्नाले खादा र प्रमाणपत्रसहित सम्मान गर्नुभयो । बडू निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्षसमेत हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्