दार्चुला – दार्चुलाको लटिनाथ माध्यमिक विद्यालय चौपातामा अभिभावक भेला सम्पन्न भएको छ। भेलाले विद्यालय व्यवस्थापन समिति (विव्यस) र शिक्षक–अभिभावक संघ गठन गरेको सहायक प्रधानाध्यापक महेशराज जोशीले जानकारी दिनुभयो। आज विद्यालयमा सम्पन्न अभिभावक भेलाले छेपरी खत्री, भुवनेश्वरी गिरी, दीपक बहादुर पाल र नरेश सिंह बोहरालाई विव्यस सदस्य चयन गरेको छ। विव्यसको सदस्य सचिवमा प्रधानाध्यापक केशवराज बिष्ट पदेन सदस्य रहनुभएको छ भने शिक्षक प्रतिनिधिका रूपमा राजेन्द्र सिंह खत्री चयन हुनुभएको छ। नौ सदस्यीय विव्यसमा एक जना वडा प्रतिनिधि सदस्य रहने व्यवस्था रहेको र हाल चयन भएका सात सदस्यले थप दुई जना सदस्य मनोनीत गरेपछि समिति पूर्ण हुने सहायक प्रधानाध्यापक जोशीले बताउनुभयो। विव्यसका सदस्यहरूमध्येबाट एक जना अध्यक्ष चयन गरिने व्यवस्था रहेको छ।
यस्तै, लटिनाथ मावि चौपाताको शिक्षक–अभिभावक संघ ११ सदस्यीय गठन गरिएको छ। तुला गिरीको अध्यक्षतामा गठन भएको संघमा अभिभावकतर्फ चञ्चल सिंह खत्री, नारदसिंह बोहरा, गोमती मिश्र, कल्पना पाल, भानदेव जोशी, फुलुरी खत्री र हेमन्ती बिष्ट सदस्य चयन हुनुभएको छ। शिक्षक प्रतिनिधिका रूपमा ललित सिंह साउद सदस्य सचिव चयन हुनुभएको छ भने प्रधानाध्यापक र विव्यस अध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको विद्यालयले जनाएको छ।
जेष्ठ सदस्य छेपरी खत्रीको अध्यक्षता तथा लेकम गाउँपालिकाका संस्थापक अध्यक्ष एवम् लटिनाथ मावि चौपाताका निवर्तमान विव्यस अध्यक्ष परमानन्द जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले नयाँ विव्यस र शिक्षक–अभिभावक संघ गठन गर्दै कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।






