काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै सरकारका तीन मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन्। प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई पदबाट अलग हुन सुझाव दिएको एक मन्त्रीले जानकारी दिएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले नागरिक सरकारका मन्त्रीहरू राजनीतिक गतिविधिमा सक्रिय भएको विषय उठाउँदै प्रश्न गरेकी थिइन्। ती मन्त्रीका अनुसार प्रधानमन्त्रीले राजनीतिक गतिविधिमा संलग्न नहुने व्यक्तिमात्रै आफू नेतृत्वको मन्त्रिपरिषद्मा रहन उपयुक्त हुने स्पष्ट सन्देश दिएकी थिइन्।
विशेषगरी ऊर्जामन्त्री कुलमान घिसिङको गतिविधिलाई लिएर प्रधानमन्त्री बढी गम्भीर बनेको बताइएको छ। हालै घिसिङले आफू संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय गराएका थिए। त्यसपछि रास्वपाले उनलाई उपसभापति बनाएको थियो।
यस्तै, खेलकुदमन्त्री बब्लु गुप्ता पनि रास्वपाका गतिविधिमा संलग्न देखिँदै आएको र सञ्चारमन्त्री जगदीश खरेलले समेत आफ्नो स्वार्थअनुसार राजनीतिक गतिविधि गरिरहेको प्रधानमन्त्रीको बुझाइ रहेको बताइएको छ।
भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि नागरिक सरकारका रूपमा सुशीला कार्कीको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो।






