वीरगञ्ज — धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न विवादका कारण पर्साको वीरगञ्जमा हिजो बेलुकी ६ बजेदेखि लागू गरिएको कर्फ्यू हटाइएको छ। आज बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकपछि दिउँसो साढे ३ बजेपछि कर्फ्यू हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो।
बैठकले वीरगञ्जमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णयसमेत गरेको छ। प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक सद्भावविरुद्धका गतिविधि नियन्त्रण गर्न तथा आवश्यक कानूनी कारबाहीका लागि सिफारिस गर्न जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न धार्मिक समुदायका अगुवाहरू रहने गरी संयन्त्र गठन गरिनेछ।
यस्तै, बैठकले धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह वा आन्दोलनकारीलाई कानूनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय गरेको छ। प्रशासनले सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै वीरगञ्जमा शान्ति, सहअस्तित्व र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अनुरोध गरेको छ।






