काठमाडौं — शेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ९ दशमलव ९३ अङ्कले बढ्दै २ हजार ६ सय ४९ दशमलव ३० विन्दुमा पुगेको छ। आज होटल तथा उत्पादन समूह बाहेक सबै समूहको शेयर बढेको छ। तीमध्ये फाइनान्स समूह सबैभन्दा धेरै २ दशमलव ८७ प्रतिशतले उकालो लागेको छ। कारोबार भएका कम्पनीहरूमध्ये १ सय ४८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ३ वटा कम्पनीको घटेको छ। ८ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।
आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य झन्डै १० प्रतिशतले वृद्धि भएको छ। समग्र बजार बढेको दिन रुरु जलविद्युत् परियोजना कम्पनीको शेयर भने सबैभन्दा धेरै ८ दशमलव ४१ प्रतिशतले घटेको छ।
नेप्से बढेसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ। हिजो ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ सय ३४ वटा कम्पनीका १ करोड ४८ लाख कित्ता शेयर ७ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको छ।






