काठमाडौँ — काठमाडौँ उपत्यकाको तापक्रम आज तीन डिग्री सेल्सियसमा झरेको छ। आज बिहान पौने ९ बजे उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस मापन गरिएको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेविड ढकालका अनुसार यो तापक्रम यस वर्ष अहिलेसम्मकै सबैभन्दा कम हो। यसअघि आज बिहान पौने ६ बजे न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको थियो, जुन केही घण्टामै थप घटेर तीन डिग्रीमा पुगेको हो।
हिजो काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको थियो भने त्यसअघिल्लो आइतबार चार डिग्री सेल्सियस मापन गरिएको थियो। पछिल्ला दिनहरूमा तापक्रम निरन्तर घट्दै गएको मौसमविद्हरूले बताएका छन्।
काठमाडौँ उपत्यकासहित देशका अधिकांश भागमा चिसो बढेको छ। तराई र पहाडी क्षेत्रका धेरै स्थानमा केही दिनयता राम्रोसँग घाम लाग्न नसकेको र हुस्सु, कुहिरो तथा शीतका कारण जनजीवन कष्टकर बनेको छ।
मौसमविद्हरूले विशेष गरी बिहान र बेलुकाको समयमा चिसो अत्यधिक हुने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।






