बङ्गलादेशले लगायो आईपीएल प्रसारणमा प्रतिबन्ध

काठमाडौँ — बङ्गलादेशले भारतीय प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्रसारणमा प्रतिबन्ध लगाएको छ। बङ्गलादेश सरकारको सूचना तथा प्रसारण मन्त्रालयले अर्को सूचना नआएसम्म आईपीएल प्रसारण निलम्बन गर्ने आदेश दिएको जनाएको छ।

मन्त्रालयले यो निर्णय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को आदेशमा कोलकाता नाइट राइडर्सले बङ्गलादेशका क्रिकेटर मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि लिएको हो।

यसअघि बङ्गलादेशका युवा तथा खेलकुद मामिला सल्लाहकार आसिफ नजरुलले मुस्ताफिजुरलाई टोलीमा समावेश नगरिएकोमा विरोध जनाएका थिए। उनले आउँदो आईपीएल खेलहरूको सबै प्रसारण रोक्न आवश्यक उपाय अपनाउन सूचना तथा प्रसारण सल्लाहकारलाई अनुरोध गरेका थिए।

नजरुलले बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई निर्देशन दिएका छन् कि आउँदो टी–२० क्रिकेट विश्वकपमा बङ्गलादेशका खेलहरू भारतको सट्टा श्रीलङ्कामा सार्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई पत्र लेखियोस्।

यसै क्रममा बङ्गलादेश क्रिकेट बोर्डले सन् २०२६ को टी–२० विश्वकप खेल्न आफ्नो टोली भारत नजाने निर्णय गरेको छ। यो कदमले आगामी अन्तर्राष्ट्रिय क्रिकेटमा भारत–बङ्गलादेश सम्बन्धमा नयाँ राजनीतिक तथा खेलकुद विवाद सिर्जना हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्