चैत १ गतेदेखि दोस्रो राष्ट्रिय आर्थिक गणना शुरू

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले आउँदो चैत १ गतेदेखि दोस्रो राष्ट्रिय आर्थिक गणना शुरू गर्ने भएको छ। कार्यालयले आज आर्थिक गणनाको तालिका, लोगो र नारा सार्वजनिक गरेको हो। ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित सञ्चालन हुने यो गणना असार मसान्तसम्म चल्नेछ।

यसअघि २०७५ सालको वैशाखमा पहिलो पटक राष्ट्रिय आर्थिक गणना गरिएको थियो। दोस्रो आर्थिक गणनामा आर्थिक विवरणदेखि उद्योगहरूबाट भएको उत्पादनसम्मका विस्तृत तथ्याङ्क समावेश गरिने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार आर्थिक गणनाका क्रममा प्रतिष्ठानमै पुगेर नेपालमा उद्योगको अवस्था, रोजगारी सिर्जनाको अवस्था, लगानी र उत्पादनसम्बन्धी विवरण सङ्कलन गरिनेछ। यसका लागि करिब पाँच हजार गणक नियुक्त गरिने जानकारी दिइएको छ।

राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी–सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गर्ने योजना रहेको छ। कार्यालयले विभिन्न १८ वटा क्षेत्रको आधारभूत तथ्याङ्क सङ्कलन गर्ने जनाएको छ।

तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी कमलप्रसाद पोख्रेलले आर्थिक कारोबार हुने क्षेत्रहरूको वास्तविक अवस्था बुझ्नका लागि यो गणना अत्यन्तै महत्त्वपूर्ण हुने बताउनुभएको छ।

२०७५ मा सम्पन्न पहिलो राष्ट्रिय आर्थिक गणनामा देशभर ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान तथा व्यवसाय गणना गरिएको थियो। ती प्रतिष्ठानमा ३२ लाख २८ हजार ४ सय ५७ जना मानिस संलग्न रहेको विवरण सार्वजनिक गरिएको थियो।

यसैगरी, राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले नेपालभर सञ्चालनमा रहेका आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानहरूको आधारभूत विवरण सङ्कलन र प्रशोधन गर्नु आर्थिक गणनाको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँका अनुसार आर्थिक गणनाबाट प्राप्त तथ्याङ्कले सरकारलाई नीति निर्माण, योजना तर्जुमा तथा नीतिमार्फत तय गरिएका लक्ष्यहरूको मूल्याङ्कन गर्न महत्वपूर्ण सहयोग पुर्‍याउनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्