काठमाडौं – नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको जनाउँदै मातहतका सबै निकायलाई परिपत्र गरेको छ। पार्टीले वैशाखमा नियमित महाधिवेशन हुने जानकारीसहित तल्ला तहका निकायमा पठाएको उक्त पत्र आज सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएको हो।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन र पार्टीलाई बहुमत दिलाउने उद्देश्यले सबै कार्यकर्ता तथा नेताहरूलाई क्रियाशील हुन निर्देशन दिइएको छ।
यसैबीच नेपाली कांग्रेसका पाँच प्रदेश सभापतिले नियमित महाधिवेशनको तयारीमा जुट्न देशभरका नेता तथा कार्यकर्तालाई अनुरोध गरेका छन्। कोशी प्रदेशका सभापति उद्धव थापा, मधेश प्रदेशका कृष्णप्रसाद यादव, बागमती प्रदेशका इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेशका ललितजङ्ग शाही र सुदूरपश्चिम प्रदेशका वीरबहादुर बलायरले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनका साथै फागुन २१ गते हुने निर्वाचनको तयारीमा एकताबद्ध भएर लाग्न आग्रह गरेका हुन्।
संयुक्त विज्ञप्तिमा पार्टी संगठन सुदृढीकरण र निर्वाचनमा सफलताका लागि सबै तहका नेता–कार्यकर्ताबीच समन्वय र सक्रियता आवश्यक रहेको उल्लेख गरिएको छ।







