कञ्चनपुर — कञ्चनपुर क्षेत्र नम्बर २ का लागि नेकपा एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटका क्रममा सम्पन्न आन्तरिक निर्वाचनबाट पुरुषतर्फ अशोक कुमार चन्द निर्वाचित हुनुभएको छ। पार्टीको विधि र विधानअनुसार गरिएको उम्मेदवार छनोट प्रक्रियामा चन्दले बहुमत समर्थन प्राप्त गर्दै उम्मेदवारका रूपमा आफ्नो दाबी स्थापित गर्नुभएको हो।
कार्यकर्ता तहदेखि नै सक्रिय राजनीति सुरु गर्नुभएका चन्द विद्यार्थी राजनीतिबाट उदाउँदै विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। विद्यार्थी नेता हुँदै स्थानीय तहको नेतृत्वसम्म पुग्नुभएका उहाँ बेदकोट नगरपालिकाको पहिलो कार्यकालमा नगर प्रमुख रहनुभएको थियो। नगर प्रमुखका रूपमा उहाँले आधारभूत पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र प्रशासनिक सुधारमा उल्लेखनीय काम गरेको एमालेका स्थानीय नेता–कार्यकर्ताहरूको भनाइ छ।
पार्टीभित्र अनुशासित, स्पष्ट दृष्टिकोण र जनसम्पर्कमा सशक्त नेताका रूपमा चिनिनुभएका चन्द आगामी दिनमा क्षेत्र नम्बर २ का लागि भरोसायोग्य र जनविश्वास प्राप्त प्रतिनिधि बन्नेमा एमाले नेतृत्व विश्वस्त देखिएको छ। पार्टीका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा योग्य, सक्षम र अनुभवी नेतृत्वको आवश्यकता रहेको र चन्द त्यसका लागि उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकालिएको हो।
उम्मेदवार छनोट प्रक्रियामा चन्दसँगै नरबहादुर धामी र महिलातर्फ पार्वती जोशी पनि चयन हुनुभएको छ। पार्टीले समावेशी प्रतिनिधित्व र संगठनात्मक सन्तुलनलाई मध्यनजर गर्दै उम्मेदवार सिफारिस गरिएको जनाएको छ।
नेकपा एमाले कञ्चनपुरले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, जनसम्पर्क अभियान र नीति–कार्यक्रम सार्वजनिक गर्ने तयारीलाई तीव्र बनाएको छ। क्षेत्र नम्बर २ मा एमालेले बलियो प्रतिस्पर्धा गर्ने दाबी गर्दै नेतृत्वप्रति जनतामा सकारात्मक सन्देश प्रवाह भइरहेको पार्टीले जनाएको छ।






