काठमाडौँ — अव्यवस्थित पूर्वाधार, जटिल भिसा प्रक्रिया, उच्च करदर तथा सीमित अन्तर्राष्ट्रिय कनेक्टिभिटीका कारण पर्यटन व्यवसायीहरूले गम्भीर चुनौती भोग्नुपरेको बताएका छन्।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सी (नाट्टा) द्वारा काठमाडौंमा आइतबार आयोजित ५८औँ वार्षिक साधारण सभामा पर्यटन क्षेत्रका समस्याहरू उजागर गरिएको हो। कार्यक्रममा नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले पर्यटन व्यवसायीहरूले भोगिरहेका प्रमुख समस्या र समाधानका तीन मुख्य प्रस्ताव प्रस्तुत गर्नुभयो।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्यसमेत रहनुभएका अध्यक्ष थपलियाले नेपाललाई केवल ‘बेटर डेस्टिनेसन’ मात्र नभई ‘इजी डेस्टिनेसन’का रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “भिसा प्रक्रिया सरल बनाउने, पर्यटन व्यवसाय सञ्चालन सहज बनाउन प्रशासनिक तथा कर प्रणाली सुधार गर्ने र अन्तर्राष्ट्रिय बजारमा नेपालका पर्यटन गन्तव्यहरूको प्रभावकारी प्रचार–प्रसार गर्नु आवश्यक छ।”
बागमती प्रदेशका पर्यटनमन्त्री सुरेश श्रेष्ठ तथा संघीय सरकारका उच्च अधिकारीहरूलाई सम्बोधन गर्दै अध्यक्ष थपलियाले पर्यटन क्षेत्रका चुनौतीलाई चार मुख्य खण्डमा वर्गीकरण गर्नुभयो। तीमध्ये भिसा तथा प्रवेश प्रक्रिया सरल बनाउने, व्यवसाय सञ्चालन सहज बनाउने, अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि सुधार गर्ने तथा पूर्वाधार र यातायात प्रणाली सुदृढ गर्ने विषय प्रमुख रहेको उहाँले बताउनुभयो।
उहाँले पर्यटन क्षेत्रको दिगो विकासका लागि सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच प्रभावकारी सहकार्य अनिवार्य रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक अच्युत वाग्लेले नाट्टाको पहलले नेपालको पर्यटन उद्योगलाई दीगो, पहुँचयोग्य र प्रतिस्पर्धात्मक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।






