प्रतिनिधिसभा निर्वाचन बागलुङ–२: एमालेबाट मञ्जु शर्मा चालिसे एकल सिफारिस

काठमाडौँ – फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर–२ बाट नेकपा एमालेले केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसेको नाम प्रत्यक्षतर्फ एकल सिफारिस गरेको छ।

नेकपा एमाले क्षेत्रीय समन्वय समिति, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को सम्पन्न बैठकले चालिसेको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको एमाले जिल्ला उपाध्यक्ष विष्णु भुषालले जानकारी दिनुभयो। क्षेत्रीय समन्वय समितिका संयोजक तथा जिल्ला उपसचिव करमती पुनको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारका आकांक्षीहरूसँग परामर्शपछि चालिसेको नाम एकल रूपमा सिफारिस गरेको हो।

चालिसे २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट एमालेको उम्मेदवार रहनुभएको थियो। तत्कालीन गठबन्धनका उम्मेदवार देवेन्द्र पौडेलसँग पराजित हुनुभएकी चालिसे हालै सम्पन्न नेकपा एमालेको एघारौँ महाधिवेशनबाट गण्डकी प्रदेश भूगोलअन्तर्गत महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो।

यसअघि नेकपा एमाले क्षेत्रीय समन्वय समिति क्षेत्र नम्बर–२ ले शुक्रबार गलकोटमा आयोजना गरेको उम्मेदवार आकांक्षीहरूसँगको छलफल कार्यक्रममा विघटित प्रतिनिधिसभामा एमालेका समानुपातिक सांसद रहेका देवी प्रकाश भट्टचन र ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहित १२ जनाले उम्मेदवारीको दाबी प्रस्तुत गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्