कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि, महाधिवेशन र चुनावबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ।

बैठकमा पार्टीको १५औँ महाधिवेशन, आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

यसअघि कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको थियो।

यसैबीच, कांग्रेस केन्द्रीय कार्यालयमा गएको असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराएको विशेष महाधिवेशनको प्रस्तावसमेत अझै विचाराधीन अवस्थामा रहेको छ। विशेष महाधिवेशनको विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्तरिक छलफललाई निरन्तरता दिइरहनुभएको कांग्रेस स्रोतले जनाएको छ।

भोलिको बैठकलाई कांग्रेसको आगामी संगठनात्मक दिशा र चुनावी रणनीतिका हिसाबले महत्वपूर्ण मानिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्