अमेरिकी आक्रमणमा भेनेजुएलामा कम्तीमा ४० जनाको मृत्यु, मदुरो दम्पती पक्राउ

काठमाडौं । अमेरिकाले शनिबार भेनेजुएलामाथि गरेको आक्रमणका क्रममा कम्तीमा ४० जनाको मृत्यु भएको छ। भेनेजुएलाका एक शीर्ष अधिकारीले न्युयोर्क टाइम्सलाई दिएको जानकारीअनुसार आक्रमणमा ठूलो मानवीय क्षति भएको हो।

उक्त आक्रमणमा अमेरिकी सेनाका कुनै पनि सदस्यको मृत्यु नभएको जनाइएको छ। यद्यपि केही सैनिक घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको सीबीएस न्युजले जनाएको छ।

आक्रमणपछि अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको जनाएको छ। अमेरिकी पक्षका अनुसार उनीहरूलाई शनिबार दिउँसो नै न्युयोर्क लगिएको हो।

राष्ट्रपति मदुरो पक्राउ परेपछि भेनेजुएलाको सर्वोच्च अदालतले शनिबार उपराष्ट्रपति डिल्सी रोड्रिग्वेजलाई कार्यकारी राष्ट्रपति नियुक्त गरेको छ। अदालतको फैसलामा राष्ट्रपतिको अनुपस्थितिमा सरकार सञ्चालन गर्ने सम्पूर्ण अधिकार रोड्रिग्वेजलाई प्रदान गरिएको उल्लेख छ।

यसैबीच, शनिबार फ्लोरिडाको मियामीस्थित आफ्नै रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति कायम नभएसम्म भेनेजुएलाको शासनसत्ता अमेरिका स्वयंले सञ्चालन गर्ने दाबी गरेका छन्।

तर भेनेजुएलाका अधिकारीहरूले अमेरिकासँग आत्मसमर्पण नगर्ने अडान दोहोर्‍याउँदै आएका छन्। घटनापछि भेनेजुएलामा राजनीतिक तथा सुरक्षा अवस्था झनै तनावग्रस्त बनेको छ भने अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दै गएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्