काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र संघीयता स्वीकार गरेर अघि बढ्ने विषयमा सबै पक्षबीच सहमति भएको छ। शनिबार राति र आइतबार बिहान भएको वार्तापछि रास्वपाको रवि लामिछाने पक्ष र उज्यालो नेपाल पक्ष संघीय संरचना, गणतन्त्र र वर्तमान संविधान स्वीकार गर्दै अघि बढ्न सहमत भएका हुन्।
पुस १४ मा पार्टी एकता भए पनि एजेन्डामा सहमति नजुट्दा देखिएको आन्तरिक विवाद सहमतिसँगै टुंगिएको रास्वपा स्रोतले जनाएको छ। संघीयतासम्बन्धी स्पष्टता माग गर्दै आएका उज्यालो पार्टी पक्षका नेताहरू पनि सहमतिमा पुगेका छन्।
सहमति अनुसार अब पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला तहमा समायोजन प्रक्रिया अघि बढाइनेछ। उज्यालो पार्टीबाट करिब ३० प्रतिशतको हाराहारीमा विभिन्न तहमा समायोजन गर्ने तयारी गरिएको छ। समायोजन प्रक्रियालाई निष्कर्षमा पुर्याउन महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा उपसमिति गठन गरिएको छ।
यसैगरी पार्टी एकतापछि बालेन र कुलमान पक्षलाई समेत समेट्दै प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोट गर्न उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अर्को उपसमिति गठन गरिएको रास्वपाले जनाएको छ।
पार्टीभित्र देखिएको मतभेद समाधान भएसँगै रास्वपा आगामी राजनीतिक गतिविधि र निर्वाचन तयारीमा एकीकृत रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।






