काठमाडौँ — नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले गणतन्त्र पक्षधर राजनीतिक दलहरू एक भएर निर्वाचनमा जाने विषयमा छलफल चलिरहेको बताएका छन्।
आइतबार कांग्रेस, एमाले र नेकपा एक भएर चुनावमा जाने सम्भावना छ कि भन्ने सञ्चारकर्मीको प्रश्नमा भट्टले भने, “नेतृत्व तहमा छलफल भइरहेको छ। आपसी सम्पर्क गाढा बन्दै गएको छ। राजनीति भएकाले सम्भावनालाई नकार्न सकिँदैन।”
उनले सकेसम्म गणतन्त्र पक्षधर दलहरू संविधानको रक्षा र स्थायित्वका लागि एक ठाउँमा उभिनु आवश्यक रहेकोमा एमालेको जोड रहेको स्पष्ट पारे।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा भएको भेटमा आगामी निर्वाचनको वातावरण बनाउने विषयमा केन्द्रित छलफल भएको दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्।
गणतन्त्रको रक्षा र राजनीतिक स्थिरताका लागि दलहरूबीच सहकार्यको सम्भावनाबारे पछिल्ला दिनमा राजनीतिक वृत्तमा चर्चा बढ्दै गएको छ।






