काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल रूपमा सिफारिस भएको छ।
शनिबार सम्पन्न पार्टीको क्षेत्रीय कमिटी बैठकले प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार झापा–५ का लागि ओलीको नाममा कुनै वैकल्पिक प्रस्ताव नआएको र सबै सदस्यको सहमतिमा एकल सिफारिस गरिएको हो।
झापा–५ अध्यक्ष ओलीको गृह क्षेत्रसमेत हो। उनी यसअघि २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।
यसैबीच झापा क्षेत्र नम्बर ३ बाट पनि अध्यक्ष ओलीलाई उम्मेदवार बनाउनुपर्ने आवाज पार्टीभित्र तीव्र रूपमा उठ्न थालेको छ। एमाले कोशी प्रदेश सल्लाहकार समिति सदस्य माधव विद्रोहीका अनुसार केन्द्रीय अध्यक्ष ओली उम्मेदवार बनेमा जित सुनिश्चित गर्न सकिने भन्दै क्षेत्रीय तहमा एकमत देखिएको छ।
“उपस्थित सम्पूर्ण सदस्यहरूले अध्यक्ष ओली उठ्नुभयो भने जिताउन सकिन्छ भन्ने धारणा राख्नुभएको छ। यस विषयमा सबैको लगभग एउटै मत छ,” विद्रोहीले बताए।
एमालेले क्षेत्रीय तहबाट आएका सिफारिसका आधारमा आगामी दिनमा उम्मेदवारको अन्तिम टुंगो लगाउने जनाएको छ।






